Monday, February 24, 2014

धरातलीय यथार्थबीच कमरेड भुसालका चाहना

दामोदर अर्याल 
(लेखक एमाले भेरी अञ्चल कमिटी सदस्य हुन्)

कसैलाई शंका नभएको तथ्य के हो भने कमरेड घनश्याम भुसाल नेकपा एमालेका बौद्धिक, अध्ययनशील र प्रखर अभिव्यक्ति क्षमता (लेख्ने र बोल्ने) भएको युवा नेता हुनुहुन्छ । उहाँले केही दिनअघि मात्रै नेपाल किन बनेन, कसले बनाउने ? शीर्षकमा बहस प्रारम्भ गर्नुभएको छ । यसका लागि उहाँ धन्यवादको पात्र हुनुहुन्छ । राष्ट्रको निर्माण बहसविना सम्भव हुँदैन । तर, यो बहसको प्रारम्भ राष्ट्र निर्माणका सन्दर्भमा एउटा निष्कर्ष निकाल्ने नियत साथ हँदै छ कि एमालेभित्र निरन्तर स्थायी प्रतिपक्ष बनिरहने चाहनातर्फको अर्को एउटा इँटा थपिएको हो ? यो त भविष्यले नै बताउला । तर, बहस सान्दर्भिक छ भन्ने कुरामा भने शंका छैन, त्यो पनि नवौं महाधिवेशनको यो सन्निकट अवस्थामा ।
बहसको पहिलो प्रसंग छ, किन बनेन नेपाल ? उहाँले नेपालको इतिहासका विभिन्न कालखण्डमा विकासका लागि भएका प्रयत्न र नियतका बारेमा छोटो चर्चा गर्दै निष्कर्षमा लेख्नुभएको छ, नेपाल बनाउने पार्टी बनिसकेको छैन, त्यसैले यो बनेन । त्यति मात्र होइन, हाल क्रियाशील लोकतान्त्रिक पार्टीहरू र यसका नेता कार्यकर्ताहरू श्रम र स्रोतमा नियन्त्रण गरी सार्वजनिक साधनस्रोतमा कब्जा जमाउँछन्, नेता, प्रशासन, पुलिस, ठेकेदार तस्करहरूका बीचमा गठबन्धन छ, ठेकेदारहरू मिल्दा पार्टी मिल्ने, उनीहरू फुट्दा पार्टीहरूबीच सैद्धान्तिक विवाद देखिने, खासखास नगर र भन्सार नाकाहरू भएका जिल्ला र स्थानीय तहमा विभिन्न पार्टीका नेताहरूका बीचमा सिन्डिकेटको स्थापना, संसदीय निर्वाचनमा उम्मेदवारी छनोटमा दलालहरूको प्रभाव छ । उहाँले लेख्नुभएको छ, कर्मचारी तथा पुलिसको सरुवा, खानी खोला, वन, जंगल, जडीबुटी र स्थानीय साधनस्रोतको ठेक्का, भन्सार तस्करी, राजस्व छली, अदालत र न्यायिक निकायमा बिचौलिया, बंक घोटाला, सार्वजनिक जमिनको दर्ता, हप्तावाल, नेटवर्क व्यापारजस्ता गतिविधिले ती नेता कार्यकर्ताहरूको जीवन चल्न थालेको छ । अझ थप्दै लेख्नुहुन्छ, यसरी राजनीतिक पार्टीहरू परजीवी नेतृत्वको जकडमा पर्दै गएका छन् । यो परजीवी वर्गले राज्य र सार्वजनिक संस्थालाई नियन्त्रित गर्दै छ । जसले गर्दा सुशासन र विकास प्रत्यक्ष रूपले प्रभावित हँदै छ । अन्तिममा कमरेड भुसालको निष्कर्ष के हो भने नेपाल बनाउने पार्टी बनिसकेको छैन । अर्थात् अर्को पार्टीको आवश्यकता उहाँ देख्नुहुन्छ ।
माथि उल्लेख गरिएका आरोपहरू साँच्चै सही हुन भने नेपालका सबै लोकतान्त्रिक दललाई विघठन गदिए हुन्छ । तर, यो सत्य होइन । नेकपा एमालेकै कुरा गर्ने हो भने केही शीर्षस्थ नेताहरूबाहेक पोलिटब्युरोकै सदस्यहरू अहिले पनि सार्वजनिक यातायातमा यात्रा गरिरहेका भेटिन्छन् । पार्टीका कैयौं केन्द्रीय सदस्य अझै पनि अरूको घरमा बहाल तिरेर कष्टकर जीवन बिताइरहेका पाउँछौं । नेकपा एमालेका कैयौं पूर्वसांसद खेतीपाती गरेर जीवन बिताइरहनु भएको छ । जिल्ला अध्यक्ष वा सचिवहरू गम्भीर प्रकारका रोग लाग्दा कार्यकर्तासँग चन्दा उठाएर औषधि गरिरहेको थुप्रै दृष्टान्तहरू प्रस्तुत गर्न सकिन्छ । एमाले नेता कमरेड भुसाललाई जानकारी गराऊँ, नेकपा एमालेका भूगोलका संगठनहरूमा क्रियाशील रहनुभएका करिब ९० प्रतिशत नेता कार्यकर्ता आफ्नै कमाइले राजनीतिमा सक्रिय हुनुहुन्छ ।
राजधानी केन्द्रित नेता कार्यकर्तामध्येको एउटा सानो हिस्सा कमरेड भुसालले भन्नुभएजस्तै सरुवा बढुवामा जीवन बिताइरहेका हुनसक्छन् । तर, सिंगो पार्टी र यसका नेता कार्यकर्ताहरू राज्यको साधनस्रोतलाई दोहन गरेर परजीवीको जीवन बिताइरहेका छन् भन्ने जस्ता आरोप कदापि स्वीकार गर्न सकिँदैन । किनकि यो तथ्य होइन ।
राणाशासन, पञ्चायती शासन र राजतन्त्रका विरुद्धमा जीवन मरणको लडाइँ लडेर आएका लोकतान्त्रिक पार्टी र यसका नेता कार्यकर्तालाई यति गम्भीर आरोप लगाइसकेपछि आपूm नेकपा एमालेको केन्द्रीय सदस्य भएको तर्फ झल्यास्स हुनुभए जस्तो छ र लेख्नुहुन्छ, नेकपा एमालेले नेपाल बनाउने कामको नेतृत्व लिन सक्छ । तर, यसका पूर्वसर्तहरू छन् । के हुन् ती सर्त ? पार्टीका सम्पूर्ण सदस्यहरूले निम्नअनुसार शपथ गर्नुपर्छ । (१) आफै कमाएर बाँच्नेछु (२) कमाएको हरेक पैसाको कानुनअनुसार कर तिर्नेछु (३) आपूmले तिरेको कर राज्यले समाजका गरिब तथा निमुखाको सामाजिक सुरक्षाका लागि प्रयोग गरिरहेको छ कि छैन भन्ने कुरामा सधैं सचेत रहनेछु । कमरेड भुसालको प्रेस्क्रिप्सनमा आएको यो तीन बँदे शपथ एमालेका सदस्यले लिँदा कसैलाई केही आपत्ति छैन । तर, शपथ नै नलिइकन पनि एमाले सदस्यले यसको पालना गरेका छन् भने लिन आवश्यक पनि भएन । तर, एमाले सदस्यले यो ३ बँदे शपथ नलिएबापत नेपाल गरिब भएको भने होइन । किनकि, अगाडि नै उल्लेख गरियो, नेकपा एमालेका करिब ९० प्रतिशत कार्यकर्ता खेतीपाती, व्यवसाय, जागिर खाएर नै पार्टीका काम गरिरहेका छन् । र, उनीहरूलाई राज्यद्वारा लिइने प्रत्यक्ष वा अप्रत्यक्ष कर एमाले भएबापत छुट छैन । जहाँसम्म तेस्रो बँदाको प्रश्न हो, राजनीति भनेको नै लोक कल्याणकारी समृद्ध र समतामूलक राष्ट्र निर्माण गर्ने अभियान हो, जुन अभियानमा एमाले कार्यकर्ता लागिरहेकै छन् ।
पार्टीलाई गम्भीर आरोप लगाइसकेपछि उहाँको ध्यान एमाले जनसंगठनतर्फ मोडिएको पाउँछौं ।
अनेरास्ववियुतर्फ इगिंत गर्दै उहाँ लेख्नुहुन्छ, नपढ्ने, क्याम्पस प्रशासनसँग मिलेर भ्रष्टाचार गर्ने, नक्कली भर्ना गरेर चुनाव जित्ने, गुन्डागर्दीमा लाग्ने । युवा संघ पनि बाँकी रहेन र सल्लाह दिनुहुन्छ, भन्सार, ठेक्का, नेता र अपराधीका पछाडि नलागी निरक्षता उन्मूलन, जातीय र लैंगिक विभेदविरुद्ध अभियान चलाउन । त्यस्तै, सल्लाह महिला संघ, शिक्षक संगठन, कर्मचारी संगठन बुद्धिजीवी संगठनहरूले पनि पाएका छन् ।
सारतः उहाँको नेपाल निर्माण गर्ने उद्देश्य पवित्र छ । देश गरिब भएकामा चिन्तित पनि हुनुहुन्छ । तर, उद्देश्य र चिन्ताहरू नकारात्मक भावका साथ आएका छन् । नकारात्मक सोचले पार्टी र राष्ट्रको विकास हँदैन । उहाँको लेखमा कतै–कतै नेकपा एमालेभित्र स्थायी प्रतिपक्ष भइरहने लालशा पनि लुकेको देखिन्छ ।
देशको विकास कसरी हुन्छ ? वास्तवमा देशको विकास प्रणालीको विकासमा नै निहित हुन्छ । राजनीतिक, सामाजिक र आर्थिक प्रणालीको स्थापना र यसको निरन्तर विकासले नै राष्ट्रको निर्माण हुने हो ।
कस्तो मोडलको प्रणाली ? बरु यसका सन्दर्भमा बहस केन्द्रित गर्न कमरेड भुसाललाई सल्लाह दिन चाहन्छु । नवौं महाधिवेशन आइसक्यो, हतारमा केही न केही फरक मत जाहेर गर्नैपर्छ भन्ने ध्येयका साथ सम्पूर्ण लोकतान्त्रिक पार्टी र आफ्नै पार्टीलाई समेत खुइल्याएर आफै नांगो हुने प्रकारको बहसले परिणाम ल्याउँदैन । आपूबाहेक सबै बेठीक भन्ने सोच लोकतान्त्रिक होइन । जहाँसम्म प्रणालीको मोडलको कुरा हो, समाज विकासको विभिन्न चरणमध्ये हाम्रो समाज कुन चरणमा छ भन्ने निक्र्योलपश्चात् नै त्यो तय हुन्छ । हामी सबैलाई थाहा छ, नेपाली सामन्तवादको नाइके संस्था राजतन्त्र फालेको करिब सात वर्ष पुग्दै छ । त्यसका समर्थकहरू अवशेषका रूपमा हाम्रो समाजमा अझै विद्यमान छन् । हालैको संविधानसभाको निर्वाचनमा राप्रपा नेपालले प्राप्त गरेको मत यसको उदाहरण हो । सामाजिक रूपमा रहेको सामान्तवादी सोचको अवशेषलाई लोकतान्त्रिकज्यव्यवस्थाले मात्र समाप्त पार्न सक्छ । त्यसबाहेक करिब ६० प्रतिशत नेपाली जनता निर्वाहमुखी पछौटे कृषि पेसामा जीवनमा बिताइरहेका छन् । कृषिक्षेत्र अझै व्यावसायिक हुन सकेको छैन । अर्थात् नेपाली अर्थतन्त्रको मुख्य हिस्सा अझै सामन्तवादी उत्पादन प्रणालीको चपेटामा छ । उद्योगधन्दा र कलकारखाना पर्याप्त बन्न सकेका छैनन् । जति छन् प्रायः जीर्ण र रुग्ण अवस्थामा बाँचिरहेका छन् । यसरी हेर्दा हाम्रो सामाजिक चेतनाको स्तरमा र उत्पादन पद्धतिमा समेत सामन्तवादको अवशेष पर्याप्त र सक्रिय अवस्थामा देखिन्छ । माक्र्सवादी विचारअनुसार सामन्तवादको अवशेषलाई पुँजीवादको स्थापना र विकासले मात्र अन्त्य गर्ने हो । तसर्थ राजनीतिक क्षेत्रमा लोकतन्त्र र वस्तु वा सेवाको उत्पादनको क्षेत्रमा व्यापक औद्योगिक पँजीवादको स्थापना आजको आवश्यकता हो ।
जहाँसम्म पार्टी, राज्य र समाजमा देखिएका भ्रष्टाचार र अनियमिताको सबाल छ, त्यो पनि विधिपूर्वक यसमा काम गर्ने संस्थालाई बलियो बनाएर मात्र गर्न सकिन्छ । पार्टीका नेता, कार्यकर्ता र राज्यका विभिन्न निकायमा काम गर्ने व्यक्तिलाई सरापेर भ्रष्टाचार कम हुँदैन । शपथ खाएर पनि समस्या समाधान हुने होइन । विधि र कानुनले यसमा कमी ल्याउन सकिन्छ । अन्त्यमा कमरेड घनश्याम भुसालको नेपाल किन बनेर र कसले बनाउने ? भन्ने सम्बन्धमा व्यक्त गर्नुभएको चिन्ताको समर्थन गर्दै यसका लागि ज–जसलाई दोषारोपण गर्नुभएको छ । र, जुन विधि अवलम्बनको प्रेस्क्रिप्सन भएको छ, त्योचाँहि स्वीकार गर्न सकिँदैन ।
(लेखक एमाले भेरी अञ्चल कमिटी सदस्य हुन्)

No comments:

Post a Comment