ढुंगा हानेर दोषीलाई छुटाउने प्रयास निरर्थक : खरेल
काठमाडौ, फाल्गुन २५ - आफ्नो नेतालाई गैरकानुनी ढंगले गिरफ्तार गरिएको भन्दै नेपाल विद्यार्थी संघले काठमाडौ प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई कारवाही गर्न माग गरेको छ ।
फागुन १९ गते नेविसंघका पूर्व सहमहामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, नेविसंघका नेता राकेश विक्रम शाही, लिलाबहादुर खड्का र जोन खड्कालाई विना कारण पक्राउ गरेको संघको दाबी छ ।
संघले पत्रकार सम्मेलन गरी सरकारद्वारा इजाजतप्राप्त हतियार बोकेर हिंड्दासमेत गैरकानुनी भनेर पक्राउ गर्नु गलत भएको बताएको छ । उसले पक्राउ परेका सबैलाई बिनासर्त रिहा नगरे थप आन्दोलन गरिने बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका अध्यक्ष एवं सभासद् रञ्जित कर्णले नेविसंघ कानुनमा विश्वास गर्ने भन्दै हाम्रो माग तत्काल सम्बोधन नभए नेपाल विद्यार्थीसंघ संघर्षमा उत्रने चेतावनी दिए ।
‘आफूलाई कानुनको पहरेदार ठान्ने रमेश खरेल नै गैरकानुनी बाटोमा हिँडेका छन्’, कर्णले भने ।
के भन्छन् खरेल ?
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले नवीकरण नगरेको हतियारसहित आधा रातमा फेला परेकाले पक्राउ गरी मुद्दा दायर गरिएको बताए । उनले स्वीकृति दिएको हतियारसमेत घरमा राख्नका लागि हो भन्दै शंकास्पद अवस्थामा समूह बनाएर हिंड्नु गलत भएको बताए ।
उनले सडक बन्द र ढुंगा हानेर दोषीलाई छुटाउने प्रयास निरर्थक हुने बताए । 'कानुन सबैका लागि समान हो,' उनले भने, 'ढुंगा हानेर जनतालाई दुःख दिएर अराजकता मच्चाउँदैमा दोषी छाडिंदैन, कानुनी प्रक्रिया पूरा हुनुपर्छ ।'
'ट्याक्सीमा हतियार राखेर मध्यरातमा कुन उद्देश्य राखेर हिंड्दै थिए,' खरेलले भने, 'नवीकरण नभएको हतियार बोक्नु भनेको गैरकानुनी हतियार बोक्नुसरह नै हो ।' जिल्ला प्रशासन कार्यालयले आइतबार हातहतियार खरखजना मुद्दामा अनुसन्धानका लागि थप ४ दिन म्याद थप गरेको छ ।
नेविसंघद्वारा प्रदर्शन
मध्यरातमा हतियारसहित पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघले राजधानीका क्याम्पस बाहिर प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा सडक अवरुद्ध हुँदा सर्वसाधारणले दुःख पाए । नेविसंघका कार्यकर्ताले पुतलीसडकको शंकरदेव, त्रिचन्द्र र थापाथली क्याम्पस नजिकका सडक अवरुद्ध पारेका थिए । त्यसक्रममा प्रहरीले बाटो खुलाउन खोज्दा इँट्टा र ढुंगा हानेका थिए ।
काठमाडौं प्रहरीले गत सोमबार बिहान सीतापाइलाबाट एउटा पेस्तोल, टु नट टु बाह्र बोरका बन्दुकसहित शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेतसहित ५ जनालाई पक्राउ गरेको थियो । नवीकरण नगरेको हतियार बोकेको आरोपमा हातहतियार खरखजना मुद्दामा काठमाडौं प्रहरीले जिल्ला प्रशासनबाट म्याद थप गरी उनीहरूमाथि अनुसन्धान जारी राखेको छ । उनीहरूको साथबाट बरामद भएमध्ये एउटा पेस्तोलको अनुमति नवीकरण गरिएको छैन ।

No comments:
Post a Comment